हत्याका पुराना फाइल खोतल्दै इटहरी प्रहरी
कपिलवस्तुको शिबराज नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सोनवागढ क्षेत्रको उत्खनन् शुरु भएको छ ।
लुम्बिनी विकासको पुरातत्व विभागले सोनवागढ क्षेत्रमा उत्खनन्को काम शुरु गरेको चौथो दिनसम्म विभिन्न गुप्तकालीन इँटाहरु भेटिएका छन् । चार दिनदेखि जारी उत्खननमा सतहमाथि नै भइरहेको उत्खननको क्रममा विभिन्न गुप्तकालीन इँटा तथा कलात्मक इँटा फेला पेरको पुरातत्वविद् हिमालकुमार उप्रेतीले जानकारी दिए ।
उत्खननका क्रममा घोडाका मूर्ति, माटोको भाँडोका टुक्राहरु फेला परेको छ भने सातौँदेखि नवौँ शताब्दीका भग्नावशेष फेला परेको पुरातत्वविद् उप्रेतीले जानकारी दिए । उत्खननकै क्रममा शिव मन्दिरमा बनाइने शिवको वहान भेटिएको शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताएका छन् ।
शिवमन्दिरको पश्चिम पट्टी हुने नन्दी भेटिएसँगै शिवलिंगसमेत हुनसक्ने वडा अध्यक्ष सापकोटाको भनाइ छ । मंगलबारबाट सुरु उत्खनन् पुस २० गतेसम्म हुने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत कृष्णबहादुर केसीले जानकारी दिए ।
सोनवागढ क्षेत्रमा करीब एक हजार ५०० वर्ष पुराना सिक्काहरु भेटिएपछि सोनवागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी विकास कोषसँग पहल गरेको कपिलवस्तुका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले बताए ।
संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक महत्वका धेरै वस्तु चोरी भैसकेको छ । अहिले पनि सोनवागढ मन्दिर आसपास पुराना इँटा प्रष्टै रहेका छन् । परीक्षण उत्खनन शुरु गरिएकाले यो चरणले कहिलेदेखि मानव क्रियाकलाप सञ्चालन रहेको छ भन्ने बारेमा जानकारी मिल्ने बताइएको छ । उत्खननको समयमा तिलौराकोटमा रहेका अन्तर्राष्ट्रिय पुरातत्वविद्ले समेत सोनवागढ अवलोकन गर्ने र उत्खननको प्रक्रिया सकिएपछि परीक्षण प्रक्रिया तथा रिपोर्ट जेठसम्ममा आउने अधिकृत केसीले बताए ।
बुद्धसँग सम्बन्धित रहेको अनुमान गरिए पनि अहिलेसम्म त्यससँग सम्बन्धित कुनै वस्तु फेला नपरेको बताइएको छ । उत्खननको क्रममा नन्दी फेला परेपछि प्राचीन समयको शिवमन्दिर हुनसक्ने अनुमान गरिएको छ ।(रासस)