अस्ट्रेलिया कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । बुधबार समूह ‘डी’ अन्तर्गत डेनमार्कलाई १–० ले हराउँदै अस्ट्रेलिया नकआउट चरणमा पुगेको हो । डेनमार्कविरुद्ध अस्ट्रेलियाका लागि ६० औं मिनेटमा अनुभवी मिडफिल्डर म्याथ्यु लेसीले निर्णायक गोल गरे । उनले म्याग्रीको पासमा गोल गर्न सफल भए ।
अस्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो । यसअघि ऊ सन् २००६ को विश्वकपमा नकआउटमा प्रवेश गरेको थियो । विश्वकप नकआउट चरणमा पुगेको अस्ट्रेलिया त्यही टोली हो जसले २०२१ मा नेपालविरुद्ध खेलेको थियो । ११ जुलाईमा भएको सो खेलमा अस्ट्रेलियाविरुद्ध नेपाल ३–० गोल अन्तरले पराजित भयो ।
सो खेलमा नेपालविरुद्ध खेलेका अधिकांश खेलाडी अहिले अस्ट्रेलियाको विश्वकप टोलीमा छन् । युरोपको चर्चित टिम डेनमार्कलाई हराउँदै अस्ट्रेलिया विश्वकप नकआउटमा पुगेपछि नेपाली टिमका पूर्व मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि प्रतिक्रिया दिएका छन् ।
‘फिफा विश्वकप २०२२ मा अष्ट्रेलिया राउन्ड अफ १६ मा प्रवेश गरेको छ । ३३ महिनाअघि हामी उसको सामना गरेका थियौँ । सो खेलमा हामीले १० खेलाडीमा ४५ मिनेटको लागि अवधिमा कडा लडेका थियौँ,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन्, ‘हाम्रो गोर्खालीको बारेमा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्ड भनेका थिए– नेपाली हुनुमा गर्व गर, नेपालको पालो आउँदै छ ।’
अस्ट्रेलियाविरुद्धको सो खेलमा रोहित चन्दले ४५ औं मिनेटमा रेडकार्ड पाएका थिए । विश्वकपअन्तर्गत समूह ‘डी’ मा ट्युनिसियाविरुद्ध फ्रान्स पराजित भयो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा ऊ १–० ले पराजित भएको हो । यो हारपछि पनि फ्रान्स समूह विजेता बन्यो । उसले नकआउट चरणको टिकट भने यसअघि नै काटिसकेको थियो ।
फ्रान्सलाई हराउन सके पनि ट्युनिसियाले नकआउट चरणको यात्रा भने गर्न सकेन । उसले तीनमध्ये एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेल्यो । फ्रान्सविरुद्ध ट्युनिसियालाई जित दिलाउने क्रममा वाहबी खजरीले निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए । ट्युनिसिया ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।